शनिबार , साउन २८, २०७९

कतार हुने र कतार जानेलाई खुसीको खबर, कतार सरकारले दियो यस्तो सुबिधा

मंग्सिर २९, २०७८ बुधबार 496

दोहा, कतार : कतारमा रहेका गैरकानूनी हैसियतका कामदारहरुलाई कतार सरकारले वैधानिक बन्न दिएको सुविधाको बढी भन्दा बढी सदुपयोग गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाली राजदूतावास कतार तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा उक्त जोड दिइएको हो ।

दूतावास र संघको संयुक्त आयोजनमा अवैधानिक आप्रवासीहरूलाई वैध हुनका लागि कतार सरकारले लागू गरेको नयाँ व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार भएको थियो ।

कतार सरकारले विभिन्न कारणले अवैध बनेका आप्रवासीको लागि वैध बनेर काम गर्न या आफ्नो देश फिर्ता हुनका लागि विभिन्न छुटसहितको सुविधा यही डिसेम्बर ३१ सम्मको लागि प्रदान गरेकोले नेपाली समुदायलाई उक्त जानकारी दिन सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले कतार सरकारले आप्रवासीको लागी प्रदान गरेको सुविधा प्रयोग गरी आफूलाई वैध बनाई यही काम गर्ने वा स्वदेश फिर्ता हुने अवसर रोज्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेका थिए ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा विभिन्न अफवाह आएको प्रति लक्षित गर्दे खनालले आधिकारिक कुराहरू दूतावासमार्फत प्रवाह हुने हुँदा भ्रममा नपर्न आग्रह समेत गरे ।

उनले कतारमा रहेका अधिकाश नेपाली सामाजिक सञ्जालको पहुँचमा पुगेको भन्दै दूतावासले सेवाग्राहीको सुविधाको लागि फेसबुक पेजमार्फत विभिन्न सूचना सम्प्रेषण गर्ने हुँदा त्यहाँ जोडिएर आधिकारिक जानकारी लिन आग्रह गरे ।

कार्यक्रममा नेपाली राजदूतावासका काउन्सिलर श्रम कृष्ण प्रसाद खनाल र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतार सरकारले अवैध आप्रवासीलाई वैध हुन पाउने गरी लागू गरेको नयाँ व्यवस्था बारेमा जानकारी गराएका थिए ।

भौतिक तथा भर्चुअलरूपमा गरिएको कार्यक्रमको विभिन्न अनलाइनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । सो क्रममा प्राप्त प्रश्न तथा जिज्ञासाको काउन्सिलर श्रम खनाल, प्रथम सचिव अनु खनाल, द्वितीय सचिव भुवन भट्ट, एनआरएन कतारका अध्यक्ष मुसलमानले सहजीकरण गरेका थिए l एनआरएनए एनसीसी कतारका अध्यक्ष मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्विकीय उपाध्यक्ष प्रेम चलाउने र सञ्चालन महासचिव पदम गिरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्