बिहिबार , जेठ ५, २०७९

सोमवार विमानस्थलमा भएको यस्तो गम्भिर घटनाले विमानस्थल सुरक्षा कमाण्डर थापा निलम्बित

फागुण १२, २०७८ बिहिबार 212

काठमाडौ । गत सोमवार त्रिभुवन विमानस्थलमा भएको घटनालाई लिएर निगमका विमानस्थल सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ । एक जना ब्यक्ति त्यती कठोर सुरक्षा घेरा नाघेर पासपोर्ट र टिकट विना नेपाल वायु सेवा निगमको कतार उडान भर्ने विमानको ढोकामा पुगेका थिए । उनी झण्डै विमानभित्र प्रवेश गर्न लाग्दा विमानका कर्मचारीलाई शंका लागेर सोधीखोजी गर्दा उनीसंग कुनै कागजात नभएको फेला परेको थियो ।

विमानस्थलको सुरक्षामा लापरवाही देखिएपछि सुरक्षा कमाण्डरलाई निलम्बन गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए ।

निगमले तत्कालै क्याप्टेन विजय लामाको संयोजकत्वमा छानविन उपसमिति गठन गरेको छ । छानबिन जारी रहे पनि संवेदनशील क्षेत्रमा सुरक्षा लापरबाही देखिएकाले थापालाई निलम्बन गरिएको कार्यकारी अध्यक्ष अधिकारीले बताए ।

निगमको जहाज दोहा उड्ने क्रममा गत फागुन ९ गते जहाजको ढोकामा बोर्डिङपास र सुरक्षा चेकजाँचबिनाका शंकास्पद व्यक्ति भेटिएका थिए । सो घटनाले विमानस्थल सुरक्षामै प्रश्न उठेपछि निगमलाई छानबिनका लागि मन्त्री आलेले निर्देशन दिएका थिए । छानबिन समितिलाई शुक्रबारसम्मको समय दिइएको छ ।

गत सोमबार (९ फागुन) राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको जहाजको ढोकामा एक शंकास्पद व्यक्ति विना बोर्डिङपास भेटिएका थिए ।

शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग पास बोर्डिङ मागेका थिए । ती व्यक्ति रौतहटका १८ वर्षीय हस्पम आलम रहेको निगमले जनाएको छ ।

उनले एक महिना अघि पनि यस्तै गरेका थिए । त्यती बेला उनको मानसिक अवस्था ठिक नभएको भन्दै प्रहरीले छोडिदिएको थियो । तर उनै ब्यक्तिले त्यस्तै घटना दोहोर्याएपछि विमानस्थल सुरक्षाले यसलाई गम्भिर रुपमा लिएको छ । अब आलमको गाउँमै गएर यसवारे विस्तृत अनुसन्धान हुने भएको छ । तर आलमका गाउँका स्थानियले भने आलमलाई विमानमा चढ्ने निकै इच्छा भएका कारण उनले त्यस्तो गरेको हुनसक्ने बताएका छन् । अहिले आलमर्लाई गौशाला प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्