बिहिबार , भाद्र २, २०७९

बेहुली लिएर आउंदै गरेको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु, बेहुलीकी बहिनि र बेहुलाका दिदि पनि मृत्यु !

माघ २२, २०७८ शनिबार 436

प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हँुदा आठ जनाको मृत्यु भएको छ । तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका छन् ।

लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा परी गौमुखी गाउँपालिका–६ का एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृतकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर परिवार भित्रकै मानिसमात्रै बिहेमा जाने कुरा भएकाले सीमित व्यक्ति जन्ती गएका थिए। दानबहादुरका बुवा आमा भने बिहेमा गएका थिएनन्। बेहुली लिएर फर्किंदै गर्दा दुर्घटनामा वसन्तकी श्रीमती ३९ वर्षीया वसन्ती र उनीहरूकी ११ वर्षीया छोरी एलिसाको मृत्यु भएको छ। वसन्तका १२ वर्षीय छोरा भिषण खड्का जन्ती नगएकाले घरमै छन्।

लिवाङका दीपक वलीले दिएको जानकारी अनुसार वसन्तीको घटनास्थलमै र वसन्त तथा उनकी छोरीको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो। ‘बिहान हामीले उद्धार गर्दासम्म बाबु-छोरीको ढुकढुकी तातै थियो,’ वलीले भने, ‘एम्बुलेन्स पनि पाइएन अरू गाडी खोजेर अस्पताल पुर्‍याउन नै ढिला भयो।’

दुर्घटनामा मृत्यु हुने अधिकांश नजिकका नातेदार छन्। कांग्रेस उपसभापति वसन्तका साला ३२ वर्षीय खिमबहादुर खत्री, वसन्तकी बुहारी तथा बेहुला दानबहादुरकी दिदी २९ वर्षीया केशरी खड्का, वसन्ती, भाउजु ५२ वर्षीया नन्दी खड्काको मृत्यु भएको छ। जीप चालक ५२ वर्षीय बलबहादुर बुढा मगर पनि सोही गाउँका हुन्। ६ जना परिवारभित्रकै सदस्य र एक जना चालकसहित सात जना एकै गाउँका मानिसको मृत्यु भएको गाउँका एक युवक दीपक वलीले जानकारी दिए।

त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएकी बेहुली १९ वर्षीया रीमा जिसीकी बहिनी नौबहिनी ६ लुङकी १८ वर्षीया बिपना जिसीको पनि मृत्यु भएको छ। त्यस्तै घाइते बेहुलाका सहोदर भाइ १७ वर्षीय नरेश खड्काको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ। दुर्घटनामा बेहुलीको एउटा हात नै चुँ’डिएको छ। ग’म्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ।

दुर्घटनामा घाइते पाँचजनामध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् । दुर्घटनामा परी घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसीको अवस्था गम्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । यसैगरी किमिचौरकै २५ वर्षीया साबित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

लिवाङ गाउँका घर परिवारभित्रकै ६ जनासहित ७ जनाको मृत्यु र अन्य आफन्त गम्भीर घाइते भएपछि लिवाङ गाउँमा सन्नाटा छाएको छ। ‘बेहुली भित्र्याउने तयारीमा रहेको घरको उल्लास कस्तो हुन्छ र आज सोही गाउँबाट ७ जनाको शव निकाल्नुपर्दा कस्तो कारूणिक अवस्था होला, तपाईं आफैं कल्पना गर्नुहोस्,’ वलीले सेतोपाटीसँग भने, ‘गाउँमा कसैको घरमा आगो बलेको छैन। नरूँने कोही छैन। गाउँमा सन्नाटा छाएको छ।’

वलीका अनुसार सबै गाउँले अहिले पनि दुर्घटनास्थल ओखरपाटामै भेला भएका छन्।‘हामी सारा गाउँले शोकमा छौं,’ वलीले भने, ‘गाउँमा यति ठूलो बज्रपात पर्ला भन्ने कल्पना पनि गरिएको थिएन।’
वलीका अनुसार दुर्घटनामा ज्यान गुमाएका वसन्त खड्का र उनी निकै मिल्ने साथी हुन्। शुक्रबार बेलुका ७ बजेतिर वलीसँग आफ्नो फोनमा कुरा भएको उनले बताए।

यस्तै दुर्घटनामा परी आठजनाको मृत्यु भएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री केसीले आज एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यस्तै सोही क्षेत्रका प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले पनि दुर्घटनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्रस्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्