बिहिबार , जेठ ५, २०७९

जन्ती बस र जिप दुर्घटना, नव विवाहित जोडीको सहित ४ जनाको मृत्यु

मंग्सिर २१, २०७८ मंगलबार 878

जाजरकोट : रुकुम पश्चिमकाे मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मत्यु भएको हो । मुसीकोट- २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएकाे थियाे ।

प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२, को पिपलबाट जन्ती लिएर मुसीकोट–१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो । घाइते भएर नेपालगन्ज पठाइएकामा मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।

बैतडीमा जीप दुर्घटना हुँदा नव विवाहित जोडीको मृत्यु

बैतडीमा सोमबार साँझ भएको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका-१ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका-७ कैलपाल जाँदै गरेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सुर्नया गाउँपालिका-४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीया मनीषा विक, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उनीहरू घरबाट माइतीघर पाटन-७ कैलपाल फर्कंदै गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका पाँच जना मध्ये दुई जनालाई डडेल्धुरा रेफर गरिएको छ । पाटन नगरपालिका-१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

जिप चालक बैतडीको पाटन नगरपालिका-५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्