बिहिबार , भाद्र २, २०७९

आज पनि कोभिड संक्रमितको संख्याले रेकर्ड बनायो, काठमाडौमा मात्र झण्डै साढे ६ हजार संक्रमित

माघ ५, २०७८ बुधबार 145

काठमाडौ । पछिल्लो समय दिनहुँ कोभिडले रेकर्ड बनाउँदै लगेको छ । बुधवार २४ घण्टामा नेपालमा ११३५२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९५०२ जना र एन्टिजन परिक्षण गर्दा १८५० जना गरि जम्मा ११३५२ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार १०२५८ जना कोरोना संक्रमित थपिएका थिए । यो संख्या कोभिड भित्रिए यताकै सबै भन्दा बढी हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमणमुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोभिड संक्रमित निको हुनेदर ९४।२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृ त कको संख्या ४ रहेको छ । यस्तै हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ६२८ रहेको छ ।

आज थपिएका कोभिड संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ६३४३ जनामा कोभिड भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ५७८ जना, ललितपुरमा १०१९ जना र काठमाडौंमा ४६६६ जना गरि जम्मा ६३४३ जनामा कोभिड संक्रमण भएको पुष्टि गरेको हो ।

स्वास्थ्यविदहरुले कोभिड संक्रमित बढ्ने दर माघको दोस्रो साता सम्म कायम रहने बताएका छन् । दिनहुँ २० हजार सम्म संक्रमित थपिन सक्ने भन्दै स्वास्थ्यविदहरुले सतर्क रहन आग्रह गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्न र अत्यावश्यक नपरी घर बाहिर नजान आग्रह गरिएको छ ।

यो पनि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पीसीआर परीक्षण शुल्क घटाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको जानकारी दिएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘यसअघि सरकारी प्रयोगशालामा एक हजार तोकिएको पीसीआर शुल्कलाई समायोजन गरेर हाल ८ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, निजी प्रयोगशालाहरुबाट बढीमा दुई हजार रुपैयाँ शुल्क तिरेर परिक्षण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरेर १५ सय अधिकतम पीसीआर शुल्क तोकिएको छ ।’

अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनुपर्नेछ । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो । त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्नेछ । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिएको थियो ।

प्रतिकृया दिनुहोस्