बिहिबार , अषोज १३, २०७९

संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यका लगाएत गाउँ र टोलमा पनि ​स्मार्ट लकडाउन तयारी

पुष २७, २०७८ मंगलबार 430

सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो ।

यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम गर्न स्थानीय प्रशासनलाई निर्देशन गरेको छ । कोभिड–१९ सङ्कट समन्वय व्यवस्थापन केन्द्र (सीसीएमसीसी)का प्रवक्ता एवं सहसचिव सुनिता नेपालका अनुसार स्मार्ट लकडाउनमा समस्या देखिएका निश्चित क्षेत्रलाई मात्र विशेष निगरानी गरिने भएकाले पहिलेको जस्तो पूरै जिल्लाभरि लकडाउन नहुने र वडास्तरको गाउँ तथा टोलमा मात्र पनि लकडाउन गर्न सकिनेछ ।

प्रवक्ता नेपालले भनिन्, “लकडाउन भन्ने बित्तिकै पूरै जिल्ला वा देशभरि हुने भन्ने होइन; अब जहाँ समस्या छ, त्यहीँ मात्र लकडाउन हुन्छ । बाँकी क्षेत्रमा दैनिक जनजीवन सामान्य अवस्थामा सञ्चालन हुनेछन् । त्यसैले यसलाई स्मार्ट लकडाउन भनिएको हो ।” सीसीएमसीसीको आइतबार बसेको बैठकले यस्तो अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गर्न सरकारलाई सिफारिस गरेपछि अब कोभिडको जोखिमको अवस्था हेरेर जिल्ला, पालिका तथा वडा तहमा मात्र पनि स्मार्ट लकडाउन गर्न सकिने छ ।

यस्तै सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । बैठकपछि आवश्यक निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको जानकारी प्रजिअ रिजालले दिए ।

त्यस्तै ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसीसी) र गृह मन्त्रालयबाट जारी निर्देशन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस विषयमा आन्तरिक छलफल सुरु भएको बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीसँगै चरणबद्ध छलफल भइरहेको बताएका छन् । तत्काललाई मास्क, सेनिटाइजरको प्रयोग, अनावश्यक भीडभाड नियन्त्रण र सचेतनासँगै खोपमा जोड दिइएको छ ।

प्रतिकृया दिनुहोस्