सहासी डाक्टर महरा : जो पिपिई बिना घरमै पुगेर संक्रमितका उपचार गर्छन्

समाचार

तपाईंलाई कस्तो छ ? मोटरसाईकलबाट झरेर आफ्नो कपाल मिलाउँदै डाक्टर गिरबहादुर महरा (गिरु) ले कोरोना संक्रमित मानबहादुर मगर छपालीलाई सोध्नुभयो । लगत्तै झोलाबाट ग्लोब्स निकाल्नुभयो । सेनिटाइजर छर्किनुभयो । निधार, शरीर छाम्न थाल्नुभयो । आफ्नै मोटरसाइकलमा झोला बोकेर डाक्टर महरा मगर छपालीको घरमा नपुग्दा सम्म धेरै मानिस त्रसित थिए । घरतिर हेर्दापनि कोरोना सर्ला जस्तो व्यवहार देखाउँथे । कोही भेट्न पनि जाँदैन्थे । तर अनौठो तरीकाले डाक्टर महराले हातमा ग्लोब्स लगाएरै जाँच्नुभयो । नौलो थियो ।

ज्वरो न घटेपछि घोराही–१८ गिठेपानीका मानबहादुर छपालीले राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा फोन गर्नुभयो । फोनै उठेन । त्यसपछि उहाँले कुनै उपाए नदेखेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो । स्थानिय बासिन्दा समेत रहेका डाक्टर महरासँग कुराकानी गर्नुभयो । त्यस लगत्तै घोराही–१४ नयाँबजारस्थित घरबाट डाक्टर महरा गिठेपानी पुग्नुभयो ।

फेसबुक पेजमा मानबहादुरले कोरोना पोजेटिभ भएको विरामी होम आइसोलेसनमा बस्दा गाह्रो भयो भने कहाँ कन्ट्याक्ट गर्ने ? राप्ती हेल्थ साइन्समा गर्दा फोन नै उठाउनु हुँदैन । के हामी देशका नागरिक होइनौं ? के हामीले उपचार पाउँदैनौं ? त्यसको केही मिनेटमै डाक्टर महरा गिठेपानी टोलको पिपल खालीस्थित घरमा पुग्नुभएको थियो ।

दिउँसो अबेर जाँच गर्दा अक्सिजन ९६, प्रेसर ११०/८५ र लङ्स नर्मल भनेर डाक्टर महराले रिपोर्ट दिनुभयो । एउटा टयाब्लेट खाँदै आएको सिटामोल दुईटा खान सुझाव दिनुभयो । अरु अवस्था नर्मल रहेकोले न आत्तिन भन्नुभयो । खानेकुराहरु सबैजसो खान मिल्ने उहाँको भनाई थियो । एक्लै छु भन्ने नसोच्नु आवश्यक परे हामी जुनसुकै बेला आउँछौं, सँगै छौ भन्नुभयो ।

केहीदिन अघि कोहलपुर मेडिकल कलेजमा श्रीमतिको उपचारका लागि मगर जानुभएको थियो । फर्किएको केही दिनमै १८ गते देखि ज्वरो आउन थाल्यो । उहाँका अनुसार ज्वरो थामिएन । उहाँ आफैलाई कोरोना भएको आशंका लाग्यो । जँचाउन २१ गते जानुभयो । त्यसको रिपोर्ट २२ गते कोरोना पोजिटिभ आयो । होम आइसोलेसनमा बस्नुभयो ।

त्यसरी कोरोना पोजेटिभ भएपछि छपालीको आङ् छुने पहिलो व्यक्ति डाक्टर महरा हुनुहुन्छ । उहाँले मगरको मुन्टो अर्कोतिर नफर्काएर पनि खासै डर मान्नुभएको थिएन । छाति र ढाड सबैतिर छुनुभयो । लामो सास तान्न र फाल्न लगाउनुभयो । प्रेसर जाँच्नुभयो । महराले जाँच्दा लाग्थ्यो मगरलाई कोरोना लागेको छैन ।

अरु रोगका विरामीलाई जस्तै आत्मीय व्यवहार देखाउनुभयो । त्यसक्रममा मगरको मुहार उज्यालो हुँदै गयो । हलुको महशुस गर्नुभयो । हातमा ग्लोब्स र आँखामा मास्क थियो । त्यस बाहेक डाक्टर महराले सामान्य आफ्ना कपडा लगाउनु भएको थियो । जाँच गर्दा प्रयोग भएका सबै साधनमा सेनिटाइजर प्रयोग गर्नुभयो । मानिसहरु आजकाल गेटबाट अनुहार निकाले कोरोना लाग्छ भनेर लुगलुग काँप्छन् ।

आफन्तजन पनि भेट्न आउँदैनन् । टाढैबाट सल्लाह सुझाव दिनेको पनि कमि छ तर डाक्टर महराले सजिलोगरी जाँच गर्नुभयो । बाटोमा उभिएकाहरुले पनि त्यो दृश्य अनौठो गरी हेरीरहेका थिए । जाँच गर्दा र सकिएपछि दुईपटक उपकरण सेनिटाइजरले सफा गर्नुभयो । अरु कुनै रोग लागेका विरामीलाई जस्तै महराको सरल व्यवहार थियो । देख्नेको पनि आत्मविश्वास बढाउँथ्यो ।

यसैगरी दुवै खुट्टाका पिंडौला टनक्कै बाँधेर गिठेपानीका हिमाल पुनले कोरोनाको दुःखाई सहनुभएको थियो । खट्नै नसक्ने गरी दुःखेपछि बाँधेको बताउनुभयो । उहाँले विस्तारै खोल्दा ठूलै डाम बसेको थियो । रक्तसञ्चार रोकिनेगरी पुनले आफ्ना दुवै खट्टा बाँध्नुभएको हो । उहाँको उपचारको लागि पनि डाक्टर महरा खबर पाउन बित्तिकै जानुभयो ।

त्यहाँ पनि मानबहादुरको घरमा गरेकै शैलीमा प्रस्तुत हुनुभयो । महराले शारीरिक जाँच तथा औषधिको हेरफेर गर्नुभयो । निर्धक्कसँग छुनुभयो, छाम्नुभयो । आवश्यक सल्लाह दिनुभयो । त्यसबेला पुनले भन्नुहुन्थ्यो, ‘बाँच्दिन क्या जस्तो भाथ्यो ।’ उहाँले थप्नुभयो, ‘कोरोना कोरोना भन्थे लागेपछि यस्तो पो हुनेरहेछ ।’

उहाँका अनुसार छाकै छोड्ने बनायो । यति गाह्रो भयो कि उभिन र शौचालय जान सकिएन । मासुका फल धेरै दुःखेपछि बेस्सरी बाँध्नुभयो । त्यसलाई पीडा कम बनायो तर बाँधेर कोरोना ठिक हुने कुरा थिएन । डाक्टर महराले जाँचेपछि दुईदिनमै फरक भयो । उहाँकी श्रीमति पवित्रा सहित दुवैजनाले होम आइसोलेसनमै स्वास्थ्य लाभ लिनुभयो ।

गत १३ गते सानी छोरीलाई ज्वरो आयो । त्यसैदिन साँझ हिमालकी श्रीमति अमृता पनि ज्वरोले थलिनुभयो । त्यस बेलासम्म हिमाललाई हल्का ज्वरो आउँथ्यो । हिमाल विद्युत वायरिङको काम गर्ने पेशामा हिंडिरहनु भयो । सक्दाको दिनसम्म काम गर्नुभयो । उठ्न बस्नै नसकिने भएपछि छोडेर घर बस्नुभयो ।

उहाँका अनुसार उहाँ कोरोनाले भेटाएपछि पनि हिंड्नुभयो । उहाँको परिवारलाई कहिल्यै थाहा नभएको दुःखाई र पीडा भयो । दुखेपनि कतै सोधपुछ गर्नुभएन । यस्तो अवस्थामा कहाँ जानेर, सञ्चो भइजाला भन्ने लाग्यो तर, बढ्दै गयो, अति भएपछि २४ गते पिसिआर गराउनु भयो । डाक्टरले मोबाइलमै रिपोर्ट आउँछ भने २५ गते आएन । फेरि आफै २६ गते ल्याउन जाँदा बुढाबुढीकै कोरोना पोजेटिभ भएको रिपोर्ट पाइयो ।

संक्रमण भएपछि आँखा खस्ला जस्तो हुने । निधार फुट्ला जसतो बनाउने, पखाला लाग्ने लगायतका शारीरिक समस्या सहेको अमृताको भनाई छ । उहाँका अनुसार मुटु ढुकढुक हुने र सास फेर्न फ्याँफ्याँ बनाउने गर्यो । खाना पटक्कै मिठो भएन । पुरै आङजाङ दुख्यो । मासुका फलफल खटाउनै नसकिने गरी दुःखायो । अति भएपछि कोरोनै होकि भनेर जँचाउन जानुभयो ।

यसरी कोरोना पोजेटिभ रिपोर्ट आएपछि अरु संक्रमितलाई सोधेर औषधि मगाएको पुन परिवारको भनाई छ । हिमालका अनुसार धेरै खाले औषधि ल्याइदिए । के खाने ? कति खाने ? अब झन् अन्यौल भयो । डाक्टरलाई न देखाएर औषधि खान हुन्न भन्ने लाग्यो । तर भन्ने कसलाई ? सोध्न जाने कहाँ ? न हिंड्न सकिने, न त कुनै साधनमा चढेर जान मिल्ने थियो ।

यस क्षेत्रमा कुनै समस्या आयो नै सबैले सम्झिने व्यक्ति डाक्टर महरा बन्नुभएको छ । समाजिक काम गर्ने स्वभाव भएका महराले आफ्नो लाभको लागि न मेडिकलमा सेवा दिनुहुन्छ, न जागिरको पछि नै कुँद्नु भएको छ ।

ठूलो धनराशी खर्चेर बंगलादेशमा पढाएका निवृत्त सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महराका एक मात्र छोरा हुनुहुन्छ उहाँ । उहाँ जसले बोलाएपनि एक कल फोनमै टुप्लुक्कै पुग्नुहुन्छ । आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ । ‘पानी परोस् या घाम । होम आइसोलेशनमा बसेका कोभिड–१९ का बिरामीलाई घरमै पुगेर यी हातले सुम्सुम्याइयो । कतै जानेको परामर्श दिइयो । भाइटल साइन हेरियो । सबैको अक्सिजन लेभल हेरियो । केही परेसी म छु भन्ने भरोसा दिँदै, चिया खाँदै बसिरहेको छु । परेसी भन्नुस नाटक गर्न जान्दैन २४ घन्टा निःशुल्क ज्यान हाजिर छ ।’

उहाँलाई देखेर पुन परिवारका चेहरा उज्याला भए । आफूले मगाएका औषधिका पोका देखाइदिए । महराले एकएक गरी जाँच गर्नुभयो । खान मिल्ने र नमिल्ने औषधि अलग बनाइदिनु भयो । पहिलो पटक भेट्ने र जाँच्ने चिकित्सक डाक्टर महरा नै हुनुहुन्थ्यो । पिपिई नलगाएरै सामान्य विरामी सरह सौहाद्र्धपूर्ण ढंगले जाँच्नुभयो । त्यो आत्मियपन पुन परिवारलाई फल्यो, बज्यै नाता पर्नेले पनि नाती महरालाई नमस्कार टक्राउनु भयो । डाक्टर महराले प्रतिवद्धता गरेपछि ‘नातीलाई होइन डाक्टरलाई नमस्कार गरेको हुँ’ भनेर श्रद्धा प्रकट गर्नुभयो ।

‘बरु मर्ने ता होला के पैसाले उपचार गर्ने र ?’ हिमालकी आमाले भन्दै हुनुहुन्थ्यो । ‘हाम्रा लागि सरकार रहेनछ, गरिबहरु बाँच्न नपाउने भयो, फोन गर्ने समेत ठाउँ रहेन,’ मानबहादुरको गुनासो थियो । उहाँहरु दुवैले डाक्टर गिरुलाई सरकार मान्नुभएको छ र आफ्नो ठान्नुभएको छ । आवश्यक परे फोन गर्नुहोला भनेर आफ्नो मोबाइल नम्बर छोड्नुभएको छ ।

घरमा लाठे छोरा । मोटर साइकल र कार हुनेले पनि बाउ आमा विरामी हुँदा डाक्टर गिरुलाई अस्पताल लगिदे भन्छन् ।

डाक्टर रोदनका अनुसार सबैभन्दा पीडा त्यति बेला लाग्छ । बाबु आमा विरामी हुँदा न चाहिने सवारी साधन । आपद पर्दा सहायता नगर्ने छोराछोरी देख्दा दिक्क लाग्छ । त्यस्तो बेलामा भने तपाईंको आफ्नै छोरा हुनुहुन्छ नि भनेर जवाफ दिएको बताउनुहुन्छ । ‘ढिलो चाँडो मलाई नि इन्फेक्सन त अवश्य हुन्छ नै’ डा. महरा भन्नुहुन्छ ।

पिपिई त झोलमा छ । लगाउने फुर्सदै हुँदैन । उहाँका अनुसार डाक्टर भेटिएन । अक्सिजन सकियो । पिसिआर गर्न जाने साधन भएन । यस्ता अनेक समस्या आउँछन् ।

डाक्टर महराको घरमा १८ महिनाकी छोरी छिन् । समात्न नपाएको धेरै दिन भइ सकेको उहाँ बताउनुहुन्छ । उहाँको श्रीमतिलेसम्म टाढैबाट देख्न पाउनुहुन्छ उहाँलाई । त्यस बाहेक परिवारसँग टाढै । आठ दशक नाघेका हजुर बा हजुर आमा र सुगरका विरामी बुवा भएकाले पनि परिवारमा कोभिडको निकै त्रास छ । त्यसैले अलग कोठामा एक्लै बस्ने र उतैबाट हिँड्ने गर्नुहुन्छ । प्यारी छोरी, माया गर्ने श्रीमति, हुर्काउने बाबु आमा तथा हजुर बा हजुर आमा भन्दा समाजको चिन्ता छ । त्यसैले सबै त्यागेर अहोरात्र विरामीको सेवामा खट्नुभएको छ उहाँ । कोरोना पोजेटिभ भएका विरामीलाई पिपिई नलगाई उपचार गर्ने डाक्टर बन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *