भाइरल हुँदै बौद्ध पिपलबोटको ‘डोको बजार’

समाचार

यतिबेला सामाजिक सञ्जालमा ‘डोको बजार’ भाइरल छ। काठमाडौं न्यूरोड, चितवनलगायत विभिन्न ठाउँका ‘अम्ब्रेला स्ट्रिट’ पछि अब भाइरल हुने पालो डोको बजारको देखिन्छ।

गोकर्णेश्वर वार्ड नं-६ स्थित बौद्ध पिपलबोट बजारलाई टिकटक जस्ता सामाजिक सञ्जालमा डोको बजार भनेर चिनिन थालिएको हो। झन्डै एक हप्ताअघि मात्रै बजार संस्थापक र व्यापारीहरूले यहाँको बजारमाथि डोको झुन्ड्याएका हुन्।

‘गोकर्णेश्वरमा यस्तो बजार छ भन्ने कमैलाई थाहा छ। त्यहीँमाथि महामारीपछि ग्राहकको चहलपहल तुलनात्मक रूपमा घटेको छ। ग्राहक आकर्षण र रमाइलोका लागि यो तरिका अपनायौं,’ बौद्ध पिपलबोट बजारका संस्थापक एवं व्यवस्थापक भूपाल लामाले भने।

उनका अनुसार विभिन्न छाता स्ट्रिटहरूबाटै प्रेरित भएर बजार विस्तारका लागि यो अवधारण भित्र्याएका हुन्। बजार क्षेत्र माथि रंगीविरंगी डोको झुन्ड्याइएको छ। झन्डै तीन रोपनी क्षेत्रफलमा फैलिएको यो बजारमाथि ४ सय ४० डोका झुन्ड्याइएका छन्।
बजारमा ६० भन्दा बढी सटरहरू छन्। तीमध्ये झन्डै ४० वटा सटरमा व्यवसाय चलिरहेको छ। बाँकी सटर लकडाउनपछि बन्द भए। बजारमाथि झुन्ड्याइएका डोका बजारकै एक व्यापारी देवीबहादुर अधिकारीको गाउँ मन्थली नगरपालिका, रामेछापबाट ल्याइएका हुन्। प्रति डोको एक सय तीस रूपैयाँ परेको उनी बताउँछन्।

‘यसरी हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दियौं। छाता आयात गरिन्छ तर डोको किनेर हामीले गाउँलेको सीपको पनि व्यापार गरायौं,’ देवीबहादुरले भने, ‘यो डोको बजारको अवधारणा दीर्घकालीन सोचमा सुरू गरेका हौं।’

दीर्घकालीन अर्थात् पिपलबोटका व्यवसायीले आजको आजै व्यापार बढ्ने सपना देखेका छैनन्। हाल उनीहरू आफ्नो बजार चिनाउन यो तरिका अपनाएको बताउँछन्।

‘बजारमा प्रायः डोकोमुनि फोटो खिच्न, भिडिओ बनाउन र टिकटक बनाउन आइरहेका छन्। तर यसैले गर्दा ठूलो जमातमा बजार चिनिन थालेको छ। बजारमाथि डोको झुन्ड्याउनुको मुख्य उद्देश्य यही हो,’ उनले भने।

बजारभित्र किराना पसल, कपडा, जुत्ता, होटलदेखि टेलरसम्म छ। भृकुटीमण्डप र असनका बजार जस्तै यहाँ भित्र-भित्र पसल छन्। ग्राहकले बाहिरी पसलबाट किनमेल गर्छन्। तर भित्रका पसल देख्दैनन्। तर अहिले डोको राखेदेखि भित्रका पसल व्यवसायी पनि खुसी सुनिन्छन्।

बजारको एक कुनामा तीन वर्षदेखि बच्चाको लुगा व्यवसाय गर्दै आएकी सरू लामा बजारमा डोको राखेदेखि पसलमा ग्राहक बढेको बताउँदै भन्छिन्, ‘पहिलेको तुलनामा पसलमा आउने ग्राहक संख्या बढेको छ। हाम्रो पसल अलि भित्र भएकाले ग्राहक त्यति हुन्थेनन्। अहिले डोको हेर्दै, घुम्दै हाम्रो पसलसम्म आइपुग्नेहरू छन्।’

त्यस्तै बजारको एक छेउमा रहेको याङ्की लाफिङ सेन्टरकी सञ्चालक याङ्की पनि बजारमा डोको राखेदेखि भिड बढेकामा सहमत छिन्। उनका अनुसार अहिले पसलमा नयाँ ग्राहक बढेका छन्। याङ्कीले झन्डै ६ वर्षदेखि लाफिङ सेन्टर चलाइरहेकी छन्।

डोको राख्न बजारभित्रका हरेक व्यवासयीले लगानी गरेका छन्। बजारको भित्री कुनामा भएका सटर व्यवसायीले १५ सय, मध्य भागतिर भएकाले दुई हजार र बाहिर प्रवेशद्वारबाट देखिने पसलले २५ सयसम्म लगानी गरेका छन्। बजार संस्थापक भूपालका अनुसार अहिलेसम्म डोको बजार बनाउन लागेको कुल खर्च झन्डै डेढ लाख पुगेको छ।

यही वैशाख १ गते नयाँ वर्ष अवसरमा पिपलबोट बजारलाई डोको बजार भनेर चिनाउने योजना थियो। तर सो मितिभन्दा अघिदेखि नै टिकटक र सामाजिक सञ्जालमा बजार भाइरल भयो।

बिहीबार बौद्धदेखि भुवन राईको टोली डोको बजारमा टिकटक भिडिओ बनाउन पुगेका थिए। स्पिकरदेखि भिडिओ बनाउन आवश्यक सामग्री बोकेर सात जना साथी यो भाइरल बजार पुगेका रहेछन्।

‘डोको बजार भनेर टिकटकबाट थाहा पायौं। त्यसैले हामी भिडिओ बनाउन आएका हौं,’ उनले भने, ‘पहिले न्युरोडमा अम्ब्रेला स्ट्रिटमा गएर पनि भिडिओ बनाएका थियौं।’

२० वर्षीय भुवनका अनुसार यहीँ आसपासमा आफ्नो बसोबास भए पनि यसअघि उनी एकपटक मात्रै बजार पुगेका थिए। बिहीबार उनी दोस्रो पटक पिपलबोट बजार पुगेका हुन्। पहिले आफू नघुमेको बजारको भित्र पसलसम्म यसपटक मज्जाले घुमेको उनले बताए।

भुवनजस्तै अरू थुप्रै ग्राहक र आगन्तुक टिकटक बनाउनै भनेर बजार खोजीखोजी पुगेका छन्। प्रायः व्यवसायी यो भिडमा रमाइरहेका छन् भने केहीले मिश्रित प्रतिक्रिया जनाए।

आफ्नो व्यवसाय र नाम खुलाउन नचाहेका एक व्यवसयीले हामीसँगै प्रश्न तेर्स्याउँदै भने, ‘ग्राहक आकर्षण र मनोरञ्जनका लागि भन्दै डोको झुन्ड्याइयो। तर कोरोना संक्रमित संख्या बढेको समय यस्तो भिड लाग्नु वा लगाउनु कत्तिको उचित हो, आफैं विचार गर्नुस् न!’

ती व्यवसायीअनुसार नयाँ वर्षका दिन बजारमा तुलनात्मक रूपमा अझै धेरै भिड थियो।

पिपलबोट बजार संस्थापक भूपालले २०६७ साल, माघदेखि सञ्चालन गरेका हुन्। तत्कालीन समय ठेला व्यवसायीलाई व्यवस्थित तरिकाले राख्ने योजनासँगै बजार बनाए पनि अहिले बजारमा सटर छन्।

‘ठेला व्यापार जथाभावी गर्न नपाउने नीति आएपछि यो जग्गा लिएर ठेला व्यवसाय व्यवस्थित ढंगमा सञ्चालन गर्ने सोचेको थिएँ। तर ठेला र साइकलवालाहरू घुम्दै बाहिरै डुल्न थाले,’ उनी भन्छन्, ‘त्यसपछि यो बजारमा बिस्तार गर्दै सटर बनाउन थालेँ र भाडामा लगाएँ।’

उनका अनुसार यो तरकारी बजारका रूपमा सञ्चालन भएको थियो, यतिबेला विभिन्न सामग्रीदेखि होटल समेत छन्। बजार बाहिर पनि थुप्रै सटर भएकाले भित्रसम्म ग्राहक पुगिरहेका थिएनन्। डोको झुन्ड्याएदेखि भने ग्राहक चाप बढेको छ, पिपलबोट बजार र यसको वरिपरि मेला लागेभन्दा कम छैन।

गोकर्णेश्वर आसपासका स्थानीयलाई समेत यो बजार राम्ररी थाहा थिएन। अहिले टाढाटाढाका मान्छेलाई पिपलबोट बजारबारे थाहा भइरहेको छ।

बजार संस्थापक भूपाल सन्तुष्टि भावमा भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य यही हो। बजारमा व्यवसाय के-कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ। तर यतिका ग्राहक र आगन्तुक देखेर अहिलेसम्म सन्तुष्ट छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *