विद्यार्थी निकालेर स्कुलमा भोजभतेर, जन्तीलाई सुत्ने ठाउँ

समाचार

विद्यार्थी निकालेर स्कुलमा भोजभतेर, जन्तीलाई सुत्ने ठाउँ

विद्यालयको प्रांगणमै भाँडाकुडा छरेर खाना पकाउनेहरू हतारिँदै काममा लागेका थिए। केही शिक्षक कक्षामा थिए भने केही अफिसमा बसेर गफमा मस्त थिए।

धनुषाको औरही गाउँपालिका-२ स्थित श्री माध्यमिक परबाहा देउरीका विद्यार्थी पढ्ने दुई वटा कोठा भोज सामग्री तथा परिकारले भरिभराउ थियो। भोजका ती समाग्री राख्नकै लागि ७ र ८ कक्षाका विद्यार्थीलाई विद्यालयकै अर्को भवनमा सारिएको थियो। दोस्रो घन्टी लागेको थियो। तर कक्षा ८ मा पढाउने शिक्षक थिएनन्। विकल्प नहुँदा विद्यार्थीले कुराकानी गर्दै समय बिताउँदै थिए।

भोजको मगमग बास्नाको आनन्द लिइरहेका ती विद्यार्थीहरू छुट्टीको घन्टी बज्ने पर्खाइमा थिए। केही शिक्षकहरू भोजभतेर गर्ने स्थानीयसँगै गफिँदै थिए। फोटो खिच्न थालेपछि स्कुलमा पत्रकार पुगेको भेउ पाएका स्थानीयसँगै शिक्षकसमेत कड्किए।

कक्षामा शिक्षक नहुँदा खाली बसेका विद्यार्थीसँग सञ्चारकर्मीले कुराकानी गर्न लाग्दा उनीहरू आक्रोशित बने।

‘विद्यार्थीसँग के कुरा गर्नुहुन्छ? जे कुरा गर्नुछ हामीसँग गर्नुस्। तपाईंहरूलाई कसले फोन गरेर बोलायो? नाम भन्नुस् न,’ आक्रोशित हुँदै एक शिक्षकले भने।

स्थानीय श्रीकृष्ण यादवको मृत्यु भएको १३ औं तिथिमा भोज आयोजना गरिएको थियो।

विद्यालयमै भोजभतेर आयोजना गरिएको यो पहिलो पटक भने होइन। विद्यालयका प्रधानाध्यापक रामनाथ साहका अनुसार विद्यालयमा मरण-हरणदेखि बिहे भोज र जन्ती राख्ने काम हुनु सामान्य बनिसकेको छ।

भोजभतेरले विद्यालयमा अध्ययरत एक हजार बढी विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ। यहाँ १२ कक्षासम्म पढाइ हुन्छ।

‘समाजकै स्कुल हो। समाजले नै त्यस्तै गर्न भन्छ भने हेडसरले रोक्न मिल्दैन। कहिलेकाहीँ केटाहरूको झुण्डै आउँछ। हामीलाई गर्न मिल्दैन भन्न डर लाग्छ,’ प्रधानाध्यापकले भने।

विद्यालयमा दिनहुँ भइरहने भोजभतेरले पढाइ त प्रभावित हुन्छ नै दुर्गन्धले कक्षामा बस्न अप्ठेरो हुने गरेको स्कुलमा विद्यार्थी बताउँछन्।

‘भोज खाएको सबै प्लेट छेउमै फालिन्छ। एक पटक भोज भयो भने सडेको भात, दाल तरकारी धेरै गन्हाउँछ। १५/२० दिनसम्म नाक थुनेरै बस्नुपर्छ,’ कक्षा ८ की एक विद्यार्थीले भनिन्, ‘बिहेका जन्ती राख्यो भने होहल्ला हुन्छ। चाँडै छुट्टी पनि भइहाल्छ। त्यो दिन पढाइ पनि अलिअलि मात्र हुन्छ।’

भोज भएको दिन ध्यानसमेत भोजतिरै जाने गरेको विद्यार्थीहरू बताउँछन्। स्थानीय नेता, समाज र शिक्षकको डरले भोजभतेर, जन्ती तथा कार्यक्रम राख्नेविरूद्ध कोही बोल्दैनन्।

दिनहुँ भइरहने भोजले दुर्गन्ध फैलिने गरेको विद्यालयका प्रधानाध्यापक साहले पनि स्वीकार गरे।

‘यहाँका मान्छेले बुझ्दैन्। बाहिर लगेर भोजको पात, फोहार फाल्न भन्छु। तर कुरा बुझ्दैनन्। अस्तिको भोजमा केही बाहिरै लगेर फालेछन्, केही छुट्यो। त्यसको दुर्गन्ध अझैं छँदैछ,’ उनले थपे।

उनका अनुसार करिब १५ दिनअघि मुस्लिम समुदायका एकजना महिलाको मृत्युभोज अयोजना हुँदाको फोहोरलेको विद्यालयमा दुर्गन्ध अझै छ। त्यसमाथि फेरि अर्को भोज हुँदै थियो।

विद्यालयमा आयोजना गरिएको भोज खान औरही गाउँपालिका अध्यक्ष ब्रहमदेव यादवसमेत पुगेका थिए। आइन्दा विद्यालयमा भोज र जन्ती नराख्न सुझाव दिएर फर्केको उनले बताए। समाजकै व्यक्तिहरूले गाउँमा ठाउँ अभावका कारण विद्यालयमै भोज गर्नु पर्ने पक्षमा उभिँदा केही गर्न नसकिएको अध्यक्ष यादवको भनाइ छ।

‘यहाँ पहिलेदेखि नै यस्तै चलन चलिआएको छ। भोजमा म पुगेको थिएँ मलाई पनि राम्रो लागेन,’ अध्यक्ष यादवले भने, ‘जनप्रतिनिधि भएर सारा समाजको विपरीत गएर म एक्लैले के गर्नसक्छु। त्यहाँका वडाध्यक्षसँगै समाजमा गएर पटक-पटक अरू ठाउँमा विवाह, भोज र जन्ती राख्न भन्दै आएको छु।’

अगामी दिनमा त्यसको व्यवस्थापन गर्न आफूले प्रयास गर्ने उनले बताए।

मंगलबारै बिहान १० बजेर ६ मिनेट भइसकेको थियो। नगराइन नगरपालिका डेवडिहास्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालयको मुल गेटमा ताला लगाइएको थियो। गेट अगाडि दर्जनौं छात्र-छात्रा गेट खुल्ने पर्खाइमा थिए। साना बच्चाहरू जोखिम मोल्दै विद्यालयभित्र छिर्न फलामको अग्लो गेटमाथि चढेर हाम फाल्दै थिए। त्यतिञ्जेल न त कार्यालय सहयोगीको अत्तोपत्तो थियो न शिक्षककै। १० बजेर ६ मिनेटपछि मात्र विद्यालयका कार्यालय सहयोगी मनोज कामती गेटको ताल्चा खोल्न आइपुगे। विद्यार्थीका अनुसार दिनहुँजसो यसैगरी ढिलो विद्यालय खुल्छ। ८ कक्षासम्म पढाइ हुने यो विद्यालयमा ११ जना शिक्षक छन्। साढे १० बजेसम्म ६ जना शिक्षकमात्र विद्यालयमा आइपुगेका थिए।

‘कहिले ११ त कहिले १२ बजेसम्म शिक्षक आउने क्रम चलिरहन्छ। हेडसरको आफ्नै टाइमको ठेगान हुन्न अरूलाई के भन्नुहुन्छ,’ एक शिक्षकले भने।

मंगलबार प्रधानाध्यापक प्रेमलाल पासवान पौने ११ बजेपछि मात्र विद्यालय आएका थिए। विद्यालयमा आएका शिक्षकमध्ये समेत २/३ जनाबाहेक अरू करिब आधा घन्टी बितिसकेपछि मात्र

पढाउन आउने गरेको कक्षा ८ का विद्यार्थीले बताए।

शिक्षकसँगै विद्यार्थीले पनि समयको ख्यालै नगरी मनलाग्दी विद्यालयमा आउजाउ गर्ने क्रम चलिरहन्छ। विद्यार्थीहरू ११ बजेसम्म आउने गरेको गणित विषयका शिक्षक दुलारचण मुखियाले बताए। उनका अनुसार विद्यालयमा ५ सय बढी विद्यार्थी छन्। तर मंगलबार भने मुस्किलले डेढ सय आएका थिए।

‘स्कुल आउने ६५ प्रतिशत छात्रा हुन्। अहिले दीपावलीको समय भएर धेरैजसो घरकै कामकाज हेर्छन्, त्यही भएर अचेल विद्यार्थी कम आउने गरेका छन,’ उनले भने। विपन्न तथा दलित समुदायका विद्यार्थी विद्यालयमा कमै आउने गरेको शिक्षक जितकुमार यादवले बताए। विद्यालय परिसरमा देखिएका ६ जनामध्ये पोशाक लगाएर आइडी कार्ड झुन्ड्याउने यादव एक्ला शिक्षक थिए। विद्यार्थीलाई दिनहुँ उनैले प्रार्थना गराउँछन्। शैक्षिक स्तर र अनुशासनका लागि प्रयास गर्दा थुप्रै चुनौती भोग्नु परेको उनले सुनाए।

‘एकल प्रयासले सुधार सम्भव छैन। प्रयास त गरेका छौं तर चाहिनेजति न शिक्षकबाटै सहयोग पाइरहेको छु न अभिभावकबाटै,’ उनले थपे।

विद्यालय चलिरहेका बेलासमेत विद्यालय परिसरमा विद्यार्थी खेलिरहेका थिए। फोटो खिच्न लाग्दामात्र उनीहरूलाई शिक्षकले कक्षामा जान भनेर कराए।

‘यहाँ सधैँभरि यस्तै हो। ४/५ जनाबाहेक सबैजना कतिखेर ४ बज्ला र छुट्टी होला भन्ने पर्खाइमा हुन्छन्। विद्यार्थी पढोस्, नपढोस् मतलब हुँदैन। यहाँका गार्जियन पनि उस्तै हुन,’ विद्यालयका अर्का कर्मचारीले भने।

विद्यालयमा विज्ञानको प्रयोगका लागि उपकरण छन् तर दक्ष जनशक्ति छैन्। कक्षा ८ का केही विद्यार्थी चुरोट खाएरै पढ्न आउने र बीच-बीचमा निस्किने गरेको विद्यार्थीहरूले बताए। ११ बजे काखमा किताब बोकेर विद्यालय पढ्न आउँदै गरेका केही विद्यार्थी छेउमै रहेको पोखरीमा माछा मार्न बसेका थिए।

प्रधानाध्यापक पासवानले शिक्षकहरू प्राय: समयमै आउने गरेको दाबी गरे।

‘अहिले पर्वको बेला भएर पनि अलि ढिलो भइहाल्छ, नभए त समयमै आउँछन,’ उनले थपे।

सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *