भुवन केसी नभएको भए फिल्म क्षेत्र जमानामा बन्द भैसक्थ्योः शिव श्रेष्ठ

समाचार

नेपाली चलचित्रका सफल नायक शिव श्रेष्ठले अर्का नायक भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्ने बताएका छन् । नायिका गौरी मल्ललाई ‘महानायिका’ भन्दै शिवले घुमाउरो शैलीमा भुवनलाई ‘महानायक’ बताए । शिवले भने–‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो ।’

आज चलचित्र क्षेत्रको माहोल बन्नुमा भुवन केसीको ठूलो हात रहेको भन्दै शिवले केसीप्रति गर्व गर्नुपर्ने बताए । भने–‘त्यतिबेला कोही मान्छे जन्मिएको थिएन जतिबेला चलचित्र क्षेत्र धरापमा परेको बेला भुवनले करोडपति चलचित्र लिएर आउनुभयो । उहाँले करोडपति चलचित्र नल्याएको भए यो क्षेत्र सखाप भैसक्थ्यो।’

आजसम्म चलचित्र क्षेत्रका लागि कसैले दिन नसकेको योगदान भुवन केसीले दिएको शिवको भनाई छ । उनले भने–‘पहिले आफै चलचित्र बनाएर हजारौंलाई रोजागरी दिनुभयो । आज फेरि चलचित्र क्षेत्रका लागि अनमोल केसी जन्माउनुभयो । मेरो छोरा पनि हिरो हो । तर, हिरो र कलाकारमा फरक हुन्छ ।

अनमोल केसी हिरो हो । आज हेर्नुहोस् त अनमोल केसी आएपछि चलचित्र क्षेत्रमा के–के भएको छ ।’ शिवले भुवनको प्रशंसा गर्दै गर्दा भुवनले शिव श्रेष्ठ चलचित्र क्षेत्रको ‘महानायक’ भएको बताएका थिए ।

कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो नहोस्ः गौरी मल्ल
नायिका गौरी मल्लले कलाकारलाई दिइने कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो हुन नहुने जवाफ दिएकी छिन् । नायकद्धय शिव श्रेष्ठ र भुवन केसीले आइतबार आयोजित एक कार्यक्रममा गौरीलाई ‘महानायिका’ भनेका थिए ।

सोही समारोहमा उपस्थित गौरीले भनिन्–‘कुनै पनि उपाधि धान्न सकिने हुनुपर्छ । उपाधिका लागि सो व्यक्ति लायक पनि हुनुपर्छ । पाउने व्यक्तिले पनि उपाधिको लागि आफू लायक छु या छैन भनेर अन्तरबोध गर्न आवश्यक छ ।’

गौरीले आफूहरुले काम सुरु गर्दा उपाधि पाइन्छ भनेर नगरेको समेत स्पष्ट पारिन् । भनिन्–‘मैले काम सुरु गर्दा कुनै उपाधि पाइन्छ भनेर गरेकै होइन । विस्तारै हिड्दै हिड्दै यहाँ आएकी हुँ । मलाई त यो देशमा कुनै पनि उपाधिको औचित्य छ जस्तै लाग्दैन । यहाँ त उपाधि भनेको कुनै पनि तस्वीरलाई भित्तामा सजाएर पूजा गरे जस्तो मात्र भएको छ । यसैले, मलाई यस्ता उपाधि चाहिएको पनि छैन । हामी काम गर्ने मानिस हौं, हामीलाई काम दिए पुग्छ।’

गौरीले आज बोलेका कुराहरु भोलीको पुस्ताका लागि इतिहास बन्ने भएकाले सोच विचार गरेर मात्र बोल्नुपर्ने र उपाधि दिइनुपर्ने बताइन् । भनिन्–‘हामीले राणाकालमा कसले कसलाई मार्यो, देखेनौं । तर, पुस्तकमा जे लेखिएको थियो त्यसैलाई स्विकार गर्यौं । राज दरबार हत्याकाण्डमा पनि जे सुन्यौ, त्यही विश्वास गर्यौं ।’

अबको ३० वा ५० बर्षपछिको पुस्ताले अहिले भनिएका कुरालाई नै मान्ने उनको तर्क छ । गौरीले भनिन्–‘कुनै पनि श्रृङ्गार, अलङ्कार सही व्यक्तिलाई दिनुपर्छ। ४ जना मान्छेलाई खुशी बनाउन उपाधि दिएर के गर्ने । आज हामीले बोल्ने कुराले भोलीको पुस्ताको मनस्थिती बदल्छ । मलाई यस्ता कुरामा फिटिक्कै रुची छैन ।’

गौरीले कलाकारहरुले यस्तो उपाधिको पछाडि लाग्नु भन्दा पनि कामले प्रमाणित गर्नेतर्फ सोच्नुपर्ने सुझाव दिइन् । उनले, आफूले न त राजाको तर्फबाट न त कुनै सरकारको तर्फबाट कुनै सम्मान नपाएको भन्दै प्रश्न गरिन्–‘के म सम्मानका लागि लायक थिइनँ होला र ? पक्कै पनि थिएँ होला नी । तर, नपाएपनि मलाई कुनै दुःख छैन । दर्शकले दिने स्नेह नै सबैभन्दा ठूलो हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *