दुई दिनमै दुई ठाउँ सरुवा: अघिल्लो दिन भूमिबाट गृहमा, भोलिपल्ट सीडिओ

समाचार

काठमाडौँः गत मंगलबार गृहमन्त्रालय ल्याइएका सहसचिवलाई भोलिपल्टै प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ । मंगलबार मात्रै सरकारले ८५ जना सहसचिवको सरुवा गरेका थियो । त्यसको भोलिपल्टै सरकारले १६ जना प्रमुख जिल्ला अधिकारीको हेरफेर र सरुवा गरेको छ । गृहको अनुभव नै नभएकालाई समेत सिडिओ बनाएर पठाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सरुवा भएका ऋषिराज तिवारी र दीपककुमार पहाडीलाई प्रजिअ बनाएर पठाइएको छ । गृहसचिव टेकनारायण पाण्डे पनि भूमि व्यवस्था मन्त्रालयबाटै गृहमा सरुवा भएका थिए । उनले भूमि व्यवस्था रहँदाका विश्वासपात्र तिवारी र पहाडी गृहमा लगेर सिडिओ बनाएका हुन्।

तिवारीलाई गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीको सिडिओ बनाएर पठाइएको छ भने पहाडी रामेछापको प्रजिअ बने । त्यस्तै मंगलबार नै गृहमा सरुवा भई आएका सहसचिव वीरेन्द्रकुमार यादव, काशीराज दाहाल, पुन्यप्रसाद पौडेल, शंकरहरि आचार्यलाई पनि एक दिनपछि बुधबार नै सिडिओ बनाइयो ।

दाहाल प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालय, पौडेल कर्णाली प्रदेश र यादव प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा आचार्य प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशमा थिए ।

दाहाललाई मोरङ, पौडेललाई गुल्मी र यादवलाई उदयपुर र शंकरहरि आचार्यलाई गोरखाको सिडिओ बनाएर खटाइएको छ । लोकसेवा आयोगबाट गृहमा सरुवा भएका कृष्णप्रसाद लम्साल पनि धादिङको प्रजिअ बने ।

यस्तै मोरङका कोशहरी निरौला, संखुवासभाका टेकनारायण पौडेल, दोलखाका बासुदेव घिमिरे, ललितपुरका ढुण्डीराज निरौलालाई गृहमन्त्रालयमा तानिएको छ । सरकारले पूर्णता नपाउँदै कर्मचारीहरुको भने व्यापक रुपमा सरुवा भइरहेको छ ।

यसअघि नै गृह, अर्थ, स्वास्थ्य लगायत महत्वपूर्ण मन्त्रालयका १२ जना सचिवको हेरफेर भइसकेको छ । अर्थ, गृह, स्वास्थ्यमा विभागीय प्रमुख, महाशाखा प्रमुख, आयोजना प्रमुख लगायत यसबीचमा छोटो समयमै धेरैको सरुवा भएको छ । हरेक दिन जस्तै कर्मचारीको सरुवा, हेरफेर हुन थालेको गृह मन्त्रालयका उच्च कर्मचारीहरु बताउँछन् । अन्नपूर्ण पोष्टमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *