आज राति काठमाडौँ उपत्यकामा वर्षकै धेरै वर्षा, धेरै ठाउँ डुबे, सडकहरु जलमग्न

समाचार

हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

रातिदेखि कयौँ स्थानमा भारी वर्षा भएको मौसमविद्ले जनाएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा भएको छ । अर्यालका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ ।

भारी वर्षापछि काठमाडौँ उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ । वाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते खोलालगायतका क्षेत्र आसपासमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ । भारी वर्षापछि सवारीसाधन सञ्चालन गर्नै अप्ठ्यारो हुने गरी सडक जलमग्न भएका छन् ।

भोलिसम्म देशैभर ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । आज दिउँसो प्रदेश-२ बाहेकका सबै क्षेत्रमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात समेत अवरुद्ध भएको छ । होचो भुभागमा रहेका घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेका प्रहरीले जनाएको छ । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *