नेपाली श्रमिक लैजान दक्षिण कोरिया सकारात्मक ।

समाचार

काठमाडौं : दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो ।विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली

श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।
कोरियाको एचआरडीसँग निरन्तरको छलफल र संवादपछि सकारात्मक देखिएको छ तर कोरिया प्रवेश गर्ने नेपालीले निश्चित मापदण्ड भने पालना गर्नुपर्ने सर्त उसले राखेको उनको भनाइ छ ।

महानिर्देशक दवाडीका अनुसार एचआरडीको पहिलो सर्त नियमित उडान खुला हुनुपर्नेछ । समाचार आजको गोरखा पत्र दैनिकमा प्रकाशित छ ।

त्यस्तै गोरखापत्रमा प्रकाशित अर्को समाचार -छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो ।

कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुक्खा बन्दरगाहलगायत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ । समुद्री सतहबाट चार हजार ६६० मिटर उचाइमा बन्ने सो सुक्खा बन्दरगाहमा दुई दर्जनभन्दा बढी भित्री पूर्वाधार निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ ।

सितारा कन्सल्टेन्ट प्रालिले एक वर्षको अवधिमा सो अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन समितिलाई प्राप्त भइसकेको छ । गजुरेलले भन्नुभयो, “सो ठाउँमा सुक्खा बन्दरगाह निर्माण गर्नु प्राविधिक, आर्थिक, वातावरणीय, सामाजिक दृष्टिकोणले उपयुक्त रहेको सो अध्ययनले देखाएको छ ।”

सो बन्दरगाह निर्माण अगाडि बढाउन आर्थिक वर्ष २०७८-७९ भित्र परामर्शदाता कम्पनी छनोट गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सम्पन्न गर्ने बताउँदै उहाँले डीपीआर र ईआईए गर्न बजेटको समेत सुनिश्चितता भइसकेको जानकारी दिनुभयो ।

अध्ययन प्रतिवेदनले सो बन्दरगाहको निर्माण कार्य दुई चरणमा सम्पन गर्ने प्रस्ताव गरेको कार्यकारी प्रमुख गजुरेलले बताउनुभयो । बन्दरगाह निर्माण गरिदिन चीन सरकारसँग समेत छलफल भइरहेको जानकारी उहाँले दिनुभयो । बन्दरगाह निर्माणका लागि जग्गासमेत सुनिश्चित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *