इन्द्रावतीमा आएको बाढीले बगायो मेलम्चीको तीन तले घर

समाचार

काठमाडौँ- इन्द्रावती नदीको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा एउटा तीन तले घर बगाएको छ । भारी वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको सो घर वर्षा र कटानले बगाएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा भारी वर्षा भएपछि आएको बाढीले स्थानीय गोपाल दुलालको तीन तले घर बगाएको प्रहरीले जनाएको छ । मेलम्चीमा असार १ गते आएको बाढीमा परेर ५ जनाको मृत्यु भएको थियो। अझै दर्जनौ बेपत्ता छन्।

निरन्तर वर्षाको कारण नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।

त्यस्तै देशभर वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज कन्काई, कोशी, कमला, वाग्मती र त्यसका केही सहायक नदी तथा खोलाको आकस्मिक बहाव आउने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार नारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा पनि पानीको बहाव सामान्य बढ्ने छ ।

महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ उदयपुर‚ ओखलढुंगा‚ धनकुटा‚ ताप्लेजुङ‚ र संखुवासभा भई बहने नदी तथा खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश २ का बारा‚ धनुषा‚ सिरहा र सप्तरीमा रहेका नदी तथा खोला आसपासका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ । यस्तै वाग्मती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ रामेछाप‚ नुवाकोट‚ दोलखा‚ धादिङ‚ चितवन‚ मकवानपुर‚ काठमाडौं र सिन्धुलीका नदी तथा खोलाको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *