अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, आन्तरिक हवाई उडान १७ असारबाट

समाचार


काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ ।उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् ।

साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि विमानस्थल र वायुसेवा कम्पनीले गर्ने टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय समेत राखेर एक सातापछिबाट उडान शुरु गर्न लागिएको हो ।सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।

अन्तर्राष्ट्रिय भोलिबाटै !
अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ ।

फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *