हेलिकोप्टरमा उड्दा-उड्दै राजेन्द्र महतोको मन्त्री पद चैट

समाचार

सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । रोचक कुरा त सरकारका दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै गरेकाे अवस्थामा मन्त्री पद गएको छ । यी दुई मन्त्री हुन् उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ ।

मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला महतो हेलिकोप्टर मार्फत सिन्धुपाल्चोक पुगेका थिए । हेलिकोप्टरबाट काठमाडौं टेक्न नपाउँदै उनीहरुको मन्त्री पद गएको हो ।

गत असार १ गतेको मेलम्ची नदीको भीषण बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो र तामाङ दिउँसो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ उडेका थिए । तामाङ सोही क्षेत्रका निवर्तमान सांसद समेत रहेका छन् ।

मेलम्ची तथा हेलम्बुका बाढी प्रभावितहरुलाई भेटेर उनीहरुले तत्कालका लागि आवश्यक पर्ने खानेकुरा र अस्थायी बसोबासको व्यवस्था गर्ने र बाटो तथा पुल निर्माण थाल्ने आश्वासन दिएका थिए । तर काठमाडौं टेक्न नपाउँदै मन्त्री पद गुमाएका उनीहरुले दिएको आश्वासन केवल आश्वासनमै सिमित हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *