शान्ति सेनामा योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल

समाचार

काठमाडौँ–

नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा पर्न सफल भएको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लव पौडेलले राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल भएको जानकारी दिए ।

शान्ति मिशनमा योगदान गर्ने मुलुकको सूचीमा बंगलादेश पहिलो राष्ट्र हो । दोस्रोमा इथियोपिया, तेस्रोमा नेपाल र चौंथोमा रुवान्डा र पाँचौंमा भारत छन् ।

यसअघि नेपाल छैटौं स्थानमा रहेको थियो । शान्ति सेना योगदान गर्ने मुलुकको सूचीमा पहिलोमा वंगलादेश, दोस्रोमा इथियोपिया, त्यसपछि नेपाल, चौथोमा रुवान्डा, पाँचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् ।

सेनाका अनुसार असार १ सम्म नेपाली सेना द्वन्द्वग्रस्त विभिन्न मुलुकका ४३ शान्ति मिसनमा काम गरेको छ । हालसम्म १४ मिसनमा काम गरिरहेको छ । सेनाबाट अहिलेसम्म १ लाख ३५ हजार ३ सय ४३ जनाले शान्ति सेनामा गएर काम गरेका छन् ।

सैनिक प्रवक्ता पौडेलका अनुसार विश्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अन्य मुलुकको विश्वास हो । नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको छ । यसले गर्दा नेपालले यूएनका माथिल्लो पदमा आफ्नो दाबी प्रस्तुत गर्नको लागि सहयोग पनि गर्छ।

Post Views: 39

Leave a Reply

Your email address will not be published. Required fields are marked *