दाइजोमा ग्यास चुल्हा र सिलिन्डर नदिएको भन्दै महोत्तरीमा नवदुलहीमाथि कुटपिट

समाचार

दाइजोमा ग्यास चुल्हा र सिलिन्डर नदिएको भन्दै महोत्तरीमा नवदुलहीमाथि कुटपिट
पीडित युवती ।
महोत्तरीमा दाइजो कम दिएको भन्दै १ महिनाअघि बुहारी भएर घरमा भित्रिएकी युवतीमाथि कुटपिट भएको छ । दाईजोस्वरुप ससुरालीपक्षले ग्याँस चुल्हो नदिएको भन्दै एक नवविवाहिता युवती श्रीमानबाटै चरम यातानाकी शिकार भएकी छिन ।

महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ६ की ती युवतीलाई माइतबाट दाइजोबापत ग्याँस चुल्हो र सिलिन्डर नल्याएको भन्दै ससुरालीपक्षले निर्घात कुटपिट गरिएका छन् । मधेसमा विवाह भएको चार दिनपछि नवदुल्हीलाई भान्सा घरमा भित्र्याउने परम्परा रहेको छ ।

सोही दिन नवदुलही मात्रैले पकाएको खाना घरपरिवारले खाने चलन रहेको छ । विवाह भएको चार दिनमै विवाहमा मगन्ते अनुरूप दाइजो नदिएको भन्दै असन्तुष्ट बनेका घरपरिवारले नवदुलहीमाथि व्रजपात प्रहार गरेका छन् । तराई मधेसमा नवदुल्हीलाई घरबाट बाहिर निस्किने चलन छैन । घुम्टोमा सजिएर रहेकी बुहारीलाई घरपरिवार बाहेक अन्य कसैसँग बोल्न नदिने परम्परा रहेको छ ।

गएको वैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनको विवाह भएको थियो । विवाह भएको चार दिनमै दाइजो नदिएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनलाई कुटपिट गर्न थालेका थिए । विवाह गरेको चार पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् । घर फर्किएपछि आफूमाथि झन् धेरै दुर्व्यवहार भएको दुलहीले बताएकी छिन् ।

कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ । सर्लाहीको जिल्ला अस्पतालमा उपचारपछि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको दुलहीकी माइती पक्षले बताएका छन् ।

माइती पक्षले दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कुटपिटमा संलग्न ससुरालाई पक्राउ गरिएको छ । अन्य सदस्य भने भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुरुमा विवाहको कुरा चल्दा केटा पक्षले दाइजोमा अधिक माग राखेपछि केटी पक्षले मागे अनुसारको दाइजो दिन अस्वीकार गरेका थिए । तर दाइजोको विषयमा संशोधन भएपछि विवाह सम्पन्न भएको थियो । फलस्वरूप दाइजोमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, सुन २ तोला, चाँदी १२ तोला, फर्निचर सेट, लुगा कपडा लगायत गरी १२ लाख रुपैयाँ खर्च गरी विवाह सम्पन्न भएको थियो ।

तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *