यी १० जिल्लामा फेरि थपियो लकडाउन

समाचार

काठमाण्डाै / काेभिड १९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि आजदेखि थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञाको अवधि सकिएका १० जिल्लामा सम्बन्धित जिल्ला प्रशासनले आजदेखि निषेधाज्ञा थप गरेको गृह मन्त्रालयले जनाएको छ ।बाँके, मोरङ, गुल्मी, बझाङ, कपिलवस्तु, ताप्लेजुङ, धनुषा, डोल्पा, म्याग्दी, सर्लाही जिल्लामा आजदेखि निषेधाज्ञाको अवधि सकिएको थियो । यी जिल्लामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ ।

अहिलेसम्म मनाङ र खोटाङबाहेक अरू ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । सप्तरी र ताप्लेजुङमा भने निश्चित क्षेत्र तोकेर आंशिक निषेधाज्ञा छ ।मङ्गलवार (भोलि) देखि अरू १० जिल्लामा पनि विभिन्न मितिमा लगाइएको निषेधाज्ञा सकिँदैछ । यी जिल्लाले पनि कोरोना सङ्क्रमणको जोखिम नघटेकाले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

हिमाली र पहाडी जिल्लामा सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय र उपत्यका तथा तराई–मधेशमा पाँच सय पुगेमा अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा लगाउने सरकारको नीतिअनुसार विभिन्न जिल्लाले निषेधाज्ञा थप्दै गएका छन् ।निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कोभिड सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश नै जारी गरेर सरकारले कैद र जरिबाना हुनेसम्मका व्यवस्था गरेको छ । सङ्क्रमणबाट जोगिन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *