साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाल आउन सकिने

प्रमुख समाचार

काठमाडौं । साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् । साउदी अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा अझै कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स)बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।

सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ । नेपाल सरकारले हाल नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स र कतार एयरवेजलाई साताको एक÷एक उडान सञ्चालन गर्न अनुमति दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

थप समाचार – गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ ।

विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि आर्थिक सहायता प्राप्त भएको थियो ।

चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको तथा नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो । यसैगरी एनआरएनए अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिण्डर खरीदसहित एक हजार १५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको तथा दुर्गम क्षेत्रमा पठाउने अभियान जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *