आमाको शृंगार हेर्दै नक्कल गर्थे, मेकअप आर्टिस्ट भए

Rochak

अनिष तामाङलाई सानैदेखि ‘मेकअप’मा रूचि थियो। आमाले ऐनाअगाडि उभिएर शृंगार गर्दा उनी हेर्दै त्यसको नक्कल गर्थे। तर उनको यो रहरलाई समाजले ‘स्त्रीलिङ्गी चरित्र’ भन्थ्यो।

छिमेकीहरूले ‘विचरा’ भावमा परिवारलाई भन्थे, ‘भएको एउटा छोरा पनि छोरीजस्तै भयो है?’

मेकअप भनेको छोरी मान्छेका लागि मात्रै हो भन्दै समाजले बारम्बार बुझाउन खोज्थ्यो। यही कारण उनलाई समाजमा खुलेर प्रस्तुत हुन गाह्रो हुन्थ्यो। ‘समाजले के भन्छ’ भन्ने डर मनमा सधैं रहन्थ्यो।

तर संकुचित सोचका बन्धनले अनिषलाई बाँधेर राख्न सकेन। पेसालाई लैंगिक भिन्नता दिएर छेक्ने पर्खाल तोडेर अनिष आज मेकअप आर्टिस्टका रूपमा परिचित छन्।

दुई वर्षयता पूर्ण रूपमा मेकअपमा सक्रिय उनी बाहिरी समाजसँग पनि खुल्दैछन्। आफ्नो प्रतिभा देखाउन इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जाललाई राम्ररी सदुपयोग गरिरहेका छन्। विशेषगरी मोडलहरूका मेकअप आर्टिस्टका रूपमा परिचित छन्।

मेरो घरमा कहिल्यै छोरा मान्छेले मेकअप गर्न हुँदैन भन्ने थिएन। बुवाममी खुला विचारको हुनुहुन्छ। ममीले त आफूले गरिरहँदा सिकाउनु पनि हुन्थ्यो,’ उनले भने, ‘कामको सिलसिलामा कोरिया गएका बेला मलाई मेकअप सामग्री पठाइदिनुहुन्थ्यो।’

सामाजिक सञ्जालमा उनले ‘डिभिनिश’ नाम राखेका छन्।

‘साथीहरूको सल्लाहपछि अंग्रेजी शब्द ‘डिभाइन’ अर्थात दिव्य र अनिष नाम मिलाएर डिभिनिश बनाएको हुँ,’ उनी नामको अर्थ खुलाउँछन्।

उसो त अनिष सुरूदेखि नै मेकअपमा लागेका होइनन्। उनी मोडल पनि हुन्।

२०७० सालमा उनी मोडलिङ क्षेत्र प्रवेश गरेका थिए। किशोरावस्थामा जागेको रूचिलाई व्यावसायिक रूपमा अघि बढाउन चाहन्थे।

प्रायः मोडलको मेकअपका लागि छुट्टै मेकअप आर्टिस्ट हुन्छन्। अनिषलाई भने अरूले गरिदिने मेकअप चित्त बुझ्थेन। मोडलिङमा चाहिने ‘ग्ल्याम मेकअप’ जान्ने र यससम्बन्धी ज्ञान भएकाले आफैं मेकअप गर्थे।

‘मैले सानैबाट मेकअप गरेकाले आफूलाई कस्तो सुहाउँछ भन्ने बढी थाहा हुन्थ्यो,’ २५ वर्षीय अनिषले भने, ‘त्यसैले होला अरूले गरिदिएको भन्दा आफैं गर्न रुचाउँथे।’

उनको मोडलिङ रूचिले बाटो पक्डिँदै थियो। २०७२ सालमा रनवे नेपालद्वारा आयोजित ‘रनवे मोडल’ र २०७४ मा ‘कलेज आइकन’ को उपाधि जितेपछि अझै हौसिए। तर त्यो हौसला लामो समय रहेन।

‘मेरो औसत उचाइका कारण यस क्षेत्रमा लामो समयसम्म जम्न नसकिएला भन्ने डर र संकोच भयो,’ उनले सुनाए।

मोडलिङको बाटो खुम्चिँदै जाँदा उनले अर्को बाटो देखे- मेकअपको। उनलाई पनि लाग्यो- मेरो करिअर मोडलिङ नभएर मेकअप पो हो कि?

अनि त दुई वर्षदेखि उनी मेकअपमै रमाएका छन्। व्यावसायिक ढगंबाट यसै क्षेत्रमा लाग्ने मनसाय बनाएपछि ‘डिभिनिश’ का रूपमा उनी सामाजिक सञ्जालमा सक्रिय भएका हुन्। अहिले ‘ग्ल्याम’ क्षेत्रमा उनको परिचय फराकिलो बन्दैछ। यो फराकिलो पहिचान बनाउन उनको परिवारको खुला सोचाइको योगदान उत्तिकै छ।

‘बाहिरी दुनियाँले पुरुष भएर स्त्री स्वाभाव देखाउनेलाई अर्कै नजरले हेर्दो रहेछ। मैले यो कुरा पछि मात्रै बुझेँ,’ उनले भने, ‘मलाई बाहिरी समाजसँग खुल्न निकै गाह्रो भएको थियो। तर मेरो परिवारको खुला विचारका कारण समाजले मेकअपलाई लिएर गर्ने लैगिंक विभेद कहिल्यै भएन। घरमा मेरो रूचिलाई सधैं समर्थन गर्नुभयो।’

अनिष केही समययता ‘बडी पेन्टर’ का रूपमा पनि पहिचान बनाउँदै छन्। यसमा अनुहार र शरीरका विभिन्न भागमा चित्र र मेकअप गरिन्छ। उनका अनुसार नेपालमा मेकअपको परिभाषा ‘ग्ल्याम मेकअप’ मै सीमित छ। तर पनि उनी ‘बडी-पेन्ट’ मा जोड दिँदैछन्।

‘मेकअपभन्दा बडी-पेन्ट बढी अर्थपूर्ण हुन्छ। यसमार्फत मान्छेको मनोभाव र भावनाहरू स्पष्ट चित्रण गर्न सकिन्छ। बोलेर भन्न नसकेका भावना बडी पेन्टमार्फत व्यक्त गर्न सक्छौं,’ उनी भन्छन्।

उनी आफ्नै शरीरलाई क्यानभास बनाउँछन्। उनको व्यक्तिगत भावना पोख्ने माध्यम नै बडी पेन्ट भएको छ अचेल।

बडी पेन्टमा भने उनको आकर्षण गत वर्षदेखि चुलिएको हो।

त्यो बेला उनी व्यक्तिगत समस्याका कारण मानसिक तनावमा थिए। निराशा हटाउन फिल्महरू हेर्थे। एकदिन ‘द लायन किङ’ हेरे। उनलाई त्यो फिल्म आफूसँग निकै सम्बन्धित लागेछ। संयोगवश सामाजिक सञ्जालमा त्यही फिल्मको बडी पेन्ट देखे। उक्त बडी पेन्ट अस्ट्रेलियाकी चिरपरिचित मेकअप आर्टिस्ट सारा तान्नोले गरेकी थिइन्।

‘त्यो देखेर म पनि यस्तो गर्न सक्छु भन्ने लाग्यो। आफ्नो मनोभाव पोख्ने बाटो त्यही देखेँ। शरीरमा लगाइने रङ र ब्रस ल्याएर ऐना अगाडि बसेँ। झन्डै ९ घन्टामा त्यो पेन्ट पूरा गरेँ,’ चित्रकोर्ने बानी समेत नभएका अनिषलाई आफ्नो पहिलो बडी पेन्ट निकै मन पर्‍यो।

‘त्यो ९ घन्टाको मिहिनेत र धैर्य उपलब्धिमूलक लाग्यो। त्यसपछि थप बडी पेन्ट गर्न हौसला मिल्यो,’ अचेल उनी प्रायः पात्रप्रधान चित्रहरू बनाउँछन् जसले अर्थ बोकेको हुन्छ।

अनिष हरेक शनिबारजसो बडी पेन्ट गर्छन्। बिहान ८-९ बजेदेखि रङ र ब्रस लिएर ऐनाअगाडि बस्ने उनी बेलुका ७-८ बजे मात्रै उठ्छन्। उनले कार्टुनका पात्रदेखि प्रकृतिसँग सम्बन्धी विषयमा बडी पेन्ट गरिसकेका छन्।

अनिषले मेकअप र बडी पेन्ट आफैंमा भन्दा अरूलाई गरिदिँदा सजिलो हुने अनुभव गरेका छन्। आफ्नै ज्यानमा गर्दा चुनौतीपूर्ण हुन्छ। त्यसमाथि शरीरमा लगाइने रङ कागजमा लगाइनेको तुलनामा ढिला सुक्छ। त्यसैले बडी पेन्टमा निकै धैर्य चाहिने उनी बताउँछन्।

उनले मोडलहरू प्रिया सिग्देल, शुभेक्षा खड्का, कलाकार अनुषा अधिकारी लगायतमा बडी पेन्ट गरिसकेका छन्। अनिषका अनुसार राम्रो मेकअप सामग्री र बडी पेन्टिङले कुनै नकारात्मक असर देखाउँदैन। तर संवेदनशील छाला भएकाले विशेष ध्यान पुर्‍याउनुपर्छ।

होटल व्यवस्थापनमा स्नातक अन्तिम सेमेस्टरमा अध्ययनरत अनिषको स्नातकोत्तर ‘प्रोस्थेटिक एन्ड एसेस्थेटिक मेकअप आर्ट’ मा गर्ने योजना छ। यो मेकअप अन्तर्गतको विधा हो। यसमा कृत्रिम तर वास्तविक देखिने मेकअप सिर्जना गरिन्छ।

अनिषका अनुसार पहिलेका तुलनामा मेकअपमा ‘क्रिएटिभिटी’ बढेको छ। सामाजिक दृष्टिकोण पनि फेरिएको छ।

‘पहिले मेकअप केटीले मात्र गर्ने भन्ने थियो। केटाले मेकअप गर्दा नराम्रो नजरले हेरिने, कुरा काटिने, अपशब्द प्रयोगसम्म गरिन्थ्यो,’ उनले भने, ‘अहिले केटाहरू पनि मेकअपमा छन्। उनीहरू समाजबाट नराम्रो मूल्यांकन हुनबाट डराउनु परेको छैन। विभिन्न क्षेत्रमा केटा मेकअप आर्टिस्ट र बडी पेन्टरले स्थान पाइरहेको देख्दा खुसी लाग्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *