मलेसियामा आजदेखि लकडाउन

समाचार

काठमाण्डौ – मलेसियामा आजदेखि आवागमन निषेध आदेश लागू भएको छ ।कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो । आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सामाजिक र आर्थिक गतिविधि बन्द रहनेछ ।

मलेसिया सरकारले निषेधाज्ञा लागू गरेसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक र कन्सुलर सेवाका लागि स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खोल्ने जनाएको छ । यो अवधिभर सुरक्षित रही मलेसिया सरकारले जारी गरेको नियमको पालना गर्न दूतावासले अनुरोध गरेको छ । साथै, मलेसिया नेपाल हवाई उडान खोल्नसमेत दूतावासले सरकारसँग अनुरोध गरेको छ ।

यो पनि: काठमाण्डौमा हल्का वर्षा, राति पनि पानी पर्ने

काठमाण्डाै – प्रदेश-२ बाहेक अहिले देशका धेरैजसो ठाउँमा मौसम बद्ली भएको छ । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।अहिले पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकासहित गण्डकी, लुम्बिनी प्रदेशमा परेको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्का पानी परेको छ । बिहान प्रदेश-१, २ र सुदूरपश्चिममा पानी परिरहेको थियो ।

अहिले कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पानी पार्ने बादलको विकास भएको र यो पूर्वतिर सर्ने क्रममा रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । पानी पार्ने बादल पूर्वतर्फ सर्दा वाग्मती प्रदेश र प्रदेश-२ मा पानी पर्न सक्ने मौसमविद् नगरकोटी बताउनुहुन्छ । काठमाण्डौ उपत्यकामा बेलुकापछि पनि पानी पर्ने सम्भावना रहेको नगरकोटीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *